वीरगंज | वीरगंज महानगरपालिकाले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रक्रिया तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ ।
भूमि समस्या समाधान आयोग पर्साले जिल्लाभर भूमिहीनको लगत संकलन अन्तिम चरणमा पुर्याइरहेको बेला महानगरले आयोगसँग सहकार्य गर्दै आफ्नो क्षेत्रमा रहेका भूमिहीनलाई विधिअनुसार जमिन उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको हो ।
मंगलबार महानगरका मेयर राजेशमान सिंहले ३२ वटै वडाका वडा सचिवलाई कार्यकक्षमा बोलाएर भूमिहीनहरुको लगत छिटो संकलन गर्न निर्देशन दिए। मेयर सिंहले भने, “जसको जमिन छैन, उसलाई जग्गा पाउने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि प्रक्रिया पूरा गरेर लगत चाँडै बुझाउनुस्। यसबाट भूमिहीन परिवारको जीवनमा ठूलो सहजता आउनेछ ।”
भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले भने वीरगन्ज महानगरले अहिलेसम्म भूमिहीनको विवरण आयोगमा नबुझाएको भन्दै असन्तोष प्रकट गरे । उनले भने, “महानगरले अब ढिलाइ गर्न हुँदैन । ‘गर्न सक्दैनौँ’ भन्नु होइन, काम तत्काल पूरा गर्नुपर्छ। अहिले जिल्ला नै लगत संकलनमा जुटिरहेको छ । महानगरकै लागि अन्तिम पटक समय थप गरिएको छ ।”
अनौपचारिक तथ्यांकअनुसार वीरगंज महानगर क्षेत्रमा करिब १५ सय हाराहारीमा भूमिहीन परिवार रहेका छन् । कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यसहित आयोगले महानगरलाई जिम्मेवार भएर कार्य सम्पन्न गर्न आग्रह गरेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले आयोगसँग घनिष्ठ समन्वय गर्दै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने कार्यमा महानगर पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “भूमिसम्बन्धी कार्य व्यवस्थित गर्न महानगरमा छुट्टै शाखा गठन गरी लगत संकलन तत्काल सुरु गरिनेछ ।”
भिडियाे सामाग्री