युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न करिब एक खर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
फाइनान्सियल टाइम्सका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गत शुक्रबार अलास्कामा भएको छलफलपछि ट्रम्पले सोमबार ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग बैठक गरेका थिए । त्यही बैठकका क्रममा युक्रेनले युरोपेली देशहरूको आर्थिक सहयोगमा उक्त परिमाणको अमेरिकी हतियार खरिद गर्ने वाचा गरेको बताइएको छ ।
युक्रेनले अमेरिकी कम्पनीहरूसँग सहकार्यमा करिब ५० अर्ब डलरको ड्रोन उत्पादन सम्झौता गर्ने प्रस्ताव पनि अघि सारेको दस्तावेज देखिएको भन्दै पत्रिकाले लेखेको छ । रूससँगको युद्धका कारण युक्रेन हाल ड्रोन प्रविधिको विकासमा विश्वमै अग्रणी मानिन्छ ।
हालैको दस्तावेजमा कुन–कुन हतियार खरिद गर्ने भन्ने प्रष्ट खुलाइएको छैन । तर युक्रेनले यसअघि आफ्ना सहर तथा पूर्वाधारको सुरक्षाका लागि कम्तीमा १० वटा प्याट्रियट एअर डिफेन्स सिस्टम सहित अन्य मिसाइल र उपकरण खरिद गर्ने चाहना प्रकट गरिसकेको छ। ड्रोन सम्झौतामा खरिद वा लगानीको अंशबारे भने प्रष्ट विवरण दिइएको छैन । अमेरिकी उद्योगलाई बलियो बनाउनुपर्ने ट्रम्पको अभियानलाई सम्बोधन गर्दै युक्रेनले यस्तो प्रस्ताव अघि सारेको बताइएको छ । ट्रम्पले युक्रेनलाई हतियार सित्तैमा दिने होइन, बेच्ने मात्र भन्ने कुरा बारम्बार दोहोर्याउँदै आएका छन् ।
यसैबीच, ट्रम्पले सोमबार जेलेन्स्की र सात युरोपेली नेतासँग रसिया–युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल गरेका थिए । छलफललगत्तै उनले चाँडै नै जेलेन्स्की र पुटिनबीच द्विपक्षीय वार्ता हुने र त्यसपछि आफू संलग्न त्रिपक्षीय वार्ता हुने घोषणा गरेका छन् ।
भेटपछि ट्रम्पले सामाजिक सञ्जालमा आफूले पुटिन र जेलेन्स्कीबीच वार्ता तयारी सुरू गरिसकेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा जेलेन्स्कीले पनि रूसी राष्ट्रपतिसँग भेट्न तयार रहेको बताएका छन् ।
नेताहरूका अनुसार युक्रेनलाई भविष्यमा रूसले पुनः आक्रमण नगर्ने ‘सुरक्षा ग्यारेन्टी’ दिने विषयमा समेत छलफल भएको छ र त्यसबारे महत्वपूर्ण प्रगति भएको दाबी गरिएको छ ।
भिडियाे सामाग्री