बारा । बारामा अत्याधुनिक तथा सुविधा सम्पन्न हाटबजार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कोल्हबी नगरपालिकाका मुख्य चोकमा निर्माण भइरहेको यो हाटबजारको काम करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने बाँकी ५ प्रतिशत अबका केही दिनमा पूरा हुने साईट इञ्चार्ज दिनेश खनालले बताए ।
तीन विघा क्षेत्रफलमा फैलिएको हाटबजारमा ७ वटा ब्लक रहेका छन्, जहाँ फरक–फरक प्रकारका सामान विक्रीका लागि कक्ष निर्माण गरिएको छ । मिसन कन्ट्रक्शन एण्ड सप्लायर्सले निर्माण गरिरहेको हाटबजारमा ७२ वटा सटर भएको ३ वटा बिल्डिंग सपिङ कमप्लेक्स, २६ वटा सटर भएको २ वटा बिल्डिंग, र २ वटा खुद्रा बजार रहेका छन् । बाँकी ब्लकमा मार्केट स्टल रहनेछन् भने स्टलको बीचमा खुला बजारको व्यवस्था गरिएको छ ।
कोल्हबीका मेयर रामप्रसाद चौधरीले भने, “लामो समयदेखि साघुँरो र जोखिममा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई एकीकृत रुपमा बजार व्यवस्थापन गर्ने उद्देश्यले अत्याधुनिक हाटबजार निर्माण थालिएको हो । यसबाट व्यवसायीको स्वास्थ्यमा असर नपर्नेछ र कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल बजार पाउनेछन् । नगर विकास कोष र कोल्हबी नगरपालिकाबाट बिनियोजित कुल १८ करोडको बजेटमा निर्माण कार्य सुरु गरिएको हो । आउँदो असोज महिनाबाट संचालनमा ल्याउने योजना छ, जुन बारा जिल्लाकै नमुना हाटबजार हुनेछ ।”
हाटबजारमा पर्खाल, अन्डरपास नाला, सडक स्तरोन्नति, इन्टरलक टायलदेखि शौचालयसम्म निर्माण भइसकेको छ । नगरपालिकाका ईन्जिनियर गणेशप्रसाद चौधरीका अनुसार व्यवस्थित पार्किङ, विश्रामस्थल र मूल्य सूचिसहितको डिस्प्ले बोर्ड पनि राखिनेछ ।
भिडियाे सामाग्री