अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अनुसन्धानका क्रममा उनीहरूमध्ये केहीले अमेरिकी कानुन उल्लङ्घन गरेको, केहीले भिसाभन्दा बढी समय बसेको र केही गम्भीर अपराधमा संलग्न रहेको तथ्य फेला परेको हो ।
रद्द गरिएका भिसामध्ये झण्डै दुई तिहाइ अर्थात करिब ४ हजार विद्यार्थी अपराधमा संलग्न रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । ती अपराधमा कुटपिट, चोरी तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेजस्ता घटना समावेश छन् ।
अमेरिकी विदेश मन्त्रालयले केही घटना आतंकवादसँग समेत जोडिएको पुष्टि गरेको छ। यसै क्रममा आतंकवादसँग सम्बन्धित मुद्दाका कारण करिब २०० देखि ३०० विद्यार्थीको भिसा रद्द गरिएको जनाएको छ । यी भिसा आप्रवासन तथा राष्ट्रियता ऐनअन्तर्गत रद्द गरिएका हुन् । यद्यपि, विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
२०२३–२४ मा मात्रै अमेरिकी विश्वविद्यालय तथा कलेजहरूमा ११ लाखभन्दा बढी विदेशी विद्यार्थी अध्ययनरत थिए । तर, केहीले शैक्षिक भिसाको दुरुपयोग गरेपछि सरकार चिन्तित बनेको र भिसा नियमहरूको छानबिनलाई थप कडा बनाइँदै गएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार यी घटनाहरूले अमेरिकी कानून उल्लङ्घन मात्र नभई कलेज क्याम्पस र आम नागरिकको सुरक्षामाथि समेत खतरा उत्पन्न गरेको छ ।