वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले वीरगंज महानगरपालिकाका मेयरसँगको विवादका कारण आफूलाई सरुवा गरिएको आरोप लगाएका छन् ।
गृह मन्त्रालयले सरुवा गरेको भोलिपल्ट शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सिडिओ अर्यालले यस्तो जिकिर गरेका हुन् ।
उनका अनुसार पछिल्लो समय महानगरका मेयर राजेशमान सिंहले विभिन्न काममा दोहोरो भूमिका निर्वाह गर्ने गरेको र सहमतिमा पुगिसकेका निर्णयलाई पछि उल्ट्याउने प्रवृत्ति देखाएका थिए । अर्यालले भने, ‘महानगरको मेयर र जिल्ला प्रशासनबीच एउटा सहमति हुन्थ्यो, तर पछि महानगरले आफ्नो स्वार्थअनुसार अर्को निर्णय गर्थ्यो । यस कारण सामाजिक सद्भाव बिग्रिने अवस्था आएको थियो ।’
यस्तो परिस्थितिका कारण समयावधि नपुग्दै आफूलाई सरुवा गरिएको उनले दाबी गरे । तर पनि आफ्नो करिब १० महिनाको कार्यकालमा नागरिक सेवामा कुनै कमी हुन नदिएको उनको भनाइ छ ।
सिडिओ अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालयमा सेवाप्रवाह सहज बनाउन स्थानीय भाषामा सूचना टाँस्नेदेखि हेल्प डेस्क स्थापना गर्ने काम गरिएको थियो । साथै, भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई ‘जाँचको बहानामा हुने झमेलाबाट रोक्न’ एकीकृत सुरक्षा प्रणाली लागू गर्ने योजना भए पनि भन्सार कार्यालयका कारण त्यो कार्यान्वयन गर्न नसकिएको उनले बताए ।
गत वर्ष कार्तिक दोस्रो सातामा पर्सा जिल्ला सरुवा भएर आएका अर्याललाई १० महिना नपुग्दै फेरि सरुवा गरिएको हो ।
भिडियाे सामाग्री