अमेरिकामा गैरकानुनी रुपमा बस्ने व्यक्तिहरूको संख्या हालसम्मकै उच्च स्तरमा पुगेको एक अनुसन्धानले देखाएको छ । प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको रिपोर्टअनुसार २०२३ मा अमेरिकामा अवैध आप्रवासीहरूको संख्या १ करोड ४० लाख (१४ मिलियन) भन्दा बढी पुगेको अनुमान गरिएको छ ।
प्यू रिसर्च सेन्टरले २०२३ को विस्तृत तथ्यांक विश्लेषण गर्दै अघिल्लो वर्ष (२०२२) को १ करोड १८ लाखभन्दा बढी संख्या २०२३ मा झनै बढेको जनाएको हो । यसअघि सन् २००७ मा यस्ता व्यक्तिको संख्या १ करोड २२ लाख पुगेको उल्लेख छ । ती मध्ये करिब ६० लाखले कुनै न कुनै कानुनी संरक्षण पाएका थिए ।
ट्रम्पको कडा नीति
जनवरी २०२५ मा पदभार ग्रहण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा कठोर नीति अवलम्बन गर्दै धेरै कानुनी सुरक्षाहरू हटाइसकेका छन् । यसैबीच २०२४ को सुरुवाती तथ्यांकले पनि अवैध आप्रवासीको संख्या बढेको देखाएको थियो । तर, तत्कालीन राष्ट्रपति जो बाइडेनले सन् २०२४ को जुन महिनामा सीमामा कडा प्रतिबन्ध लगाएपछि केही समय संख्या घटेको थियो ।
ट्रम्प प्रशासन सुरु भएपनि अहिलेसम्म अमेरिकामा १.४ करोडभन्दा बढी अवैध आप्रवासी रहेको प्यूको अनुमान छ ।
आप्रवासीको स्रोत
जनवरी २०२५ सम्म अमेरिकामा आप्रवासीहरूको कुल संख्या ५.३ करोड पुगेको छ । मेक्सिको पछि ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस र भारतका नागरिक ठूलो संख्यामा रहेका छन् । पछिल्ला दुई वर्षमा भेनेजुएला, क्युबा, कोलम्बिया, युक्रेन र पेरुबाट आएका आप्रवासीको संख्या दोब्बर भएको रिपोर्टमा उल्लेख छ ।
भिसा र कानुनी जोखिम
अमेरिकी विदेश मन्त्रालयले हालै ५५ मिलियनभन्दा बढी वैध अमेरिकी भिसा भएका विदेशीहरूको रेकर्ड समीक्षा गरिरहेको जनाएको छ । यो प्रक्रियाबाट अध्यागमन नियम उल्लङ्घन गर्ने, सार्वजनिक सुरक्षामा खतरा पुर्याउने वा आतंकवादी गतिविधिमा संलग्न हुने व्यक्तिहरूको भिसा खारेज हुने र उनीहरू अमेरिकामा भएमा देश निकाला गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले अयोग्यतामा भिसा अवधि नाघेर बस्नु, आपराधिक गतिविधिमा संलग्न हुनु, आतंकवादी संगठनलाई सहयोग गर्नु लगायतका कारण पर्न सक्ने जनाएको छ ।