मकवानपुर | दक्षिण एसियाकै पहिलो मानिने हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरिया माई सुरुङमार्ग घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको छ । उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन गरेका छन् ।
सुरुङमार्ग अवलोकनका लागि मुख्य रूपमा विद्यार्थी आउने गरेका छन् भने सुरुङ मार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार शुक्रवार जस्ता सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारणको भीड बाक्लो हुने गर्दछ ।
लामो समय जीर्ण रहेको सुरुङमार्ग पुन:निर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । प्रदेश यातायात पूर्वाधार निर्देशनालयले कूल रु. चार करोड ५७ लाखमा सुरुङको पुन:निर्माण गरी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। सुरुङमार्ग विसं २०८१ पुस ८ गते उद्घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको हो ।
हेटौँडा उपमहानगरपालिका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीका अनुसार पर्यटकबाट हालसम्म रु. एक लाख १७ हजार राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको साउनमा मात्रै ४५५ जना पर्यटकले सुरुङमार्ग अवलोकन गरेका छन् र त्यसबापत रु. २० हजार ५५० राजस्व संकलन भएको छ ।
सुरुङमार्ग अवलोकन शुल्क नेपालीलाई प्रतिव्यक्ति रु. ५०, विदेशीलाई प्रतिव्यक्ति रु. १०० र विद्यार्थीलाई प्रतिव्यक्ति रु. २० निर्धारण गरिएको छ ।
मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो। सो सुरुङ मार्गबाट विसं २०२० सम्म सवारीसाधन सञ्चालन हुँदै आएका थिए । जीर्णोद्धारको काम विसं २०७९ वैशाख १९ गते सुरु भएको थियो ।
भिडियाे सामाग्री