पछिल्ला केही दिनयता भारतमा चिनियाँ एप टिकटक पुनः चलेको भन्ने हल्ला सामाजिक सञ्जालमार्फत फैलिएको छ । केही प्रयोगकर्ताले भीपीएन प्रयोग नगरी नै डेस्कटप ब्राउजरमा टिकटकको वेबसाइट खुलेको दाबी गरेका छन् र त्यसको स्क्रिनसटसमेत सार्वजनिक गरेका छन् ।
तर, भारत सरकारले भने टिकटकमाथिको प्रतिबन्ध हटेको समाचारलाई असत्य र भ्रामक भन्दै खण्डन गरेको छ ।
शुक्रबारदेखि टिकटकको ‘अबाउट’ पेज देखिन थालेपछि प्रयोगकर्ताले यसलाई भारतमा टिकटक चल्ने संकेतका रूपमा लिएका थिए । स्क्रिनसट सार्वजनिक भएपछि हल्ला झन् फैलिएको भए पनि वेबसाइटभित्र लगइन गर्न वा भिडियो अपलोड गर्न भने सम्भव थिएन । भारतमा गुगल प्लेस्टोर र एप्पल एपस्टोरमा समेत टिकटक उपलब्ध छैन ।
सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै टिकटक ‘अनब्लक’ गर्ने कुनै आदेश जारी नभएको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार भारतमा आंशिक रूपमा देखिएको टिकटक पेज केवल प्राविधिक त्रुटि हो । तथापि, एनडीटीभीका अनुसार केही प्रयोगकर्ताले चिनियाँ अनलाइन सपिङ साइट, अलिएक्स्प्रेस पनि खोल्न सकेका छन् ।
सन् २०२० को जुन महिनामा गलवान उपत्यकामा भारत–चीन सैन्य झडप भएपछि भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप प्रतिबन्धित गरेको थियो । ती एपहरूले भारतीय प्रयोगकर्ताका संवेदनशील डेटा चीन सरकारलाई पठाउने भन्दै कारबाही गरिएको हो । पछि सन् २०२१ को जनवरीमा सूचना प्रविधि ऐन, २००० को दफा ६९ (ए) अन्तर्गत उक्त प्रतिबन्धलाई स्थायी बनाइएको थियो ।
अहिले भारत–चीन सम्बन्ध क्रमशः सुधारिँदै गइरहेको सन्दर्भमा टिकटक जस्ता चिनियाँ एप ‘फाट्टफुट्ट’ चल्न थालेको देखिनुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । दुबै देशले व्यापारिक सम्बन्ध बढाउने प्रतिबद्धता जनाइरहेका बेला भारत, चीन र नेपालबीचको त्रिदेशीय विन्दु लिपुलेक पास हुँदै व्यापार खोल्ने सहमति भए पनि नेपाललाई सहभागी नगरिएकोमा असन्तोष बढेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी यही महिनाको अन्त्यतिर चीनको तियानजिनमा हुने शाङ्घाई सहयोग संगठन (SCO) सम्मेलनमा सहभागी हुन चीन जाँदै छन् ।