काठमाडौँ | अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना दुई जना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको र यसबारे प्रधानमन्त्री कार्यालयलाई पनि जानकारी गराइसकिएको छ ।
पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिनुभयो, “सरकारमा हाम्रो पार्टीबाट रहेका प्रदीप यादव र नवलकिशोर साहले भदौ ११ गतेभित्र राजीनामा दिनुहुनेछ । त्यसपछि नाम सिफारिस भएका डा.वीरेन्द्र महतो र रञ्जु झा मन्त्रीका रूपमा सरकारमा सहभागी हुनुहुनेछ ।”
बैठकले अर्को दुई जनालाई मन्त्रीमा पठाउने निर्णय पनि गरेको छ । प्रदीप यादव र नवलकिशोर साह एक वर्षका लागि सरकारमा नियुक्त भएका थिए र उनीहरूले एक वर्षभन्दा बढी समय बिताइसकेका छन्।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर गठन भएको यस पार्टीमा सरकारमा जाने बेला रञ्जु झा (ठाकुर) को नाम विना विभागीय मन्त्रीमा सिफारिस गरिएको थियो । तर उनी एक वर्ष कुर्ने विकल्प रोजेर तत्काल मन्त्री बन्न अस्वीकार गरेकी थिइन् ।
यसअघि, जसपा नेपाल सरकारमा हुँदा डा.वीरेन्द्र महतो वनमन्त्री रहेका थिए ।
भिडियाे सामाग्री