देशभित्र विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू सञ्चालनमा रहेपनि उच्च शिक्षाका लागि ठूलो मात्रामा धनराशी विदेशिने क्रम रोकिएको छैन ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्र १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष यो रकम १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ थियो ।
केन्द्रीय बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय पनि १८.१ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस शीर्षकमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा खुद सेवा आय ९० अर्ब ९४ करोड घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड घाटामा थियो ।
यस्तै, सेवा खाताअन्तर्गत भ्रमण आयात ७.७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो आय ८२ अर्ब ३३ करोड रुपैयाँ मात्र थियो ।
शिक्षा र भ्रमण खर्च निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाउँछ कि मुलुकको ठूलो मात्रामा विदेशी मुद्राको बहिर्गमन भइरहेकाले यसले समग्र अर्थतन्त्रमा अतिरिक्त दबाब पारेको छ ।