प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा उठेमा पराजित हुने दाबी गरेका छन् ।
एमालेको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक भेटघाट कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।
सो अवसरमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, आन्दोलनमा व्यक्तिगत स्वार्थका कारण पुगेका असर, पार्टीले लिएका पछिल्ला नीतिहरू, केन्द्रीय कमिटीको निर्णय, वर्तमान सरकारले विकास र सुशासनका लागि गरिरहेका पहललगायत विषयमा आफ्नो दृष्टिकोण राखेको उनका सचिवालयले जनाएको छ ।
पूर्व राष्ट्रपति भण्डारीको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले आफूले जति सम्मान र माया अरु नेताले नगरेको दाबी गर्दै अहिले पार्टी र नेतृत्वको विरोध गर्ने अवस्थामा पुग्नु आश्चर्यजनक रहेको बताए। उनले भने, “पूर्व राष्ट्रपति भण्डारीले विधिवत रूपमा पार्टी सदस्यता नलिएर मिडिया र अन्य दलका नेताहरूसँग सक्रिय राजनीतिबारे छलफल गर्नुभयो, यस्तो गतिविधिले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउँछ। त्यसैले केन्द्रीय कमिटीले उहाँलाई तत्काल सदस्यता दिनु आन्दोलन र उहाँकै सम्मानविपरीत ठहर गरेको हो ।”
ओलीले भण्डारीलाई अध्यक्षमा उठ्दा जित्ने क्षमता नभएको ठोकुवा गर्दै थपे, “नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी होइन, त्यसका लागि परिस्थिति अनुसार डटेर सामना गर्ने क्षमता चाहिन्छ । उहाँ अध्यक्ष उठ्नुभयो भने हार्नुहुन्छ, हारेपछि पार्टीविरुद्ध लाग्ने अवस्था आउँछ । त्यसपछि पार्टीले भीम रावललाई जस्तै कारबाही प्रक्रियामा लैजानुपर्ने हुन्छ । यस्तो अपमानजनक अवस्थाभन्दा अहिले उहाँसँगको सम्मानजनक हैसियत नै उत्तम हो भनेर मैले व्यक्तिगत रूपमा पनि आग्रह गरेको थिएँ ।”
पूर्व राष्ट्रपति भण्डारीको पछिल्ला अभिव्यक्ति र गतिविधि उपयुक्त नभएको टिप्पणी गर्दै ओलीले भने, “उहाँले च्यासलले सदस्यता खोस्यो, पार्टी नेतृत्वले देश चलाउन सकेन भन्ने जस्ता मिथ्या आरोप सार्वजनिक रूपमा गर्नुभएको छ । उहाँलाई निकटस्थ साथीहरूले त्यस्तो नगर्न सम्झाउनु पर्छ, उल्काउनु हुँदैन ।”