सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको राजनीतिक जीवन सफल भएको बताएका छन् ।
नेपाली कांग्रेस सर्लाहीले बिहीबार दिवंगत कोइरालाको स्मृतिमा लालबन्दी–२ जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसका नेता–कार्यकर्ताले कोइरालाको मार्गदर्शन अनुशरण गर्नुपर्नेमा जोड दिए ।
“उहाँजत्तिको सफल सामाजिक व्यक्तित्व बन्न नसके पनि उहाँजस्तै बन्ने प्रयास भने गर्नुपर्छ,” थापाले भने, “आगामी दिनमा उहाँको मार्गदर्शनलाई अवलम्बन गर्न सक्यौँ भने सच्चा श्रद्धाञ्जली अर्पण हुनेछ ।”
कोइरालाको जीवनीबारे स्मरण गर्दै थापाले जीवनभर लाभको कुनै पद नलिएको भए पनि उहाँले समाजमा पुर्याएको योगदान अमर रहेको उल्लेख गरे। उनले दिवंगत कोइरालाको योगदानलाई लिपिवद्ध गरेर सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याए । साथै, नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपाबाट पार्टीकै तर्फबाट स्मारिका प्रकाशन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
थापाले जुटपानीमा कोइरालाकै पहलमा स्थापना भएका आश्रम, विद्यालय, स्वास्थ्य चौकीलगायत सामाजिक संस्थाबारे स्मरण गर्दै कोइरालाले जीवनमा गरेका कामले उहाँ अमर बनेको बताए ।
श्रद्धाञ्जली सभामा कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले वासुदेवशरण कोइरालाबाटै समाजसेवा र राजनीतिमा प्रेरणा लिएको बताए । त्यस्तै, कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, कार्यवाहक जिल्ला सभापति डा. सरोजकुमार यादव, पूर्व जिल्ला सभापति नागेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य जङ्गीलाल राय, लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीलगायतका वक्ताले कुशल र निष्ठावान नेता गुमाउनुपरेकोमा दुःख व्यक्त गरे ।
जुटपानी आश्रमका संरक्षकसमेत रहेका कोइरालाको भदौ ३ गते ९३ वर्षको उमेरमा निधन भएको थियो । मृत्युपश्चात आफ्नै शरीर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई अनुसन्धानका लागि प्रदान गरेर कोइरालाले अनुकरणीय कार्य गरेको वक्ताहरूले उल्लेख गरे ।
भिडियाे सामाग्री