सर्लाही | सर्लाही प्रहरीले अवैध हतियारसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७, सिसौटका २५ वर्षीय किसन महरा र बागमती नगरपालिका–४, जिरायतका १८ वर्षीय श्याम महरा रहेका छन् ।
प्रहरीका अनुसार किसन महरा अवैध हातहतियारसहित हिँड्ने गरेको सूचना पाएपछि केही दिनदेखि निगरानीमा राखिएको थियो । उनलाई भारतको सोनवर्षाबाट बीआर ०६ डिएम ९५२३ नम्बरको मोटरसाइकलमा मलङ्गवातर्फ आउँदै गर्दा नियन्त्रणमा लिइएको हो ।
सोधपुछका क्रममा किसनले आफूले कटुवा पेस्तोल बागमती नगरपालिका–१२, स्थित बागमती नदी किनारमा लुकाएर राखेको स्वीकारेका थिए । उनले उक्त हतियार श्याम महरालाई जिम्मा दिएको समेत बताएका थिए ।
त्यसपछि प्रहरीले श्याम महरालाई घरमै पुगेर नियन्त्रणमा लिएको र सोधपुछका क्रममा उनले बागमती नदी किनारमा लुकाइएको पेस्तोल देखाएको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ परेकाविरुद्ध सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । दुवैजनाको पृष्ठभूमि बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री