सप्तरी । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको शिक्षाशास्त्र सङ्काय र परीक्षा शाखामा शुक्रबार विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
गत बिहीबार प्रकाशित बीएड चौथो वर्षको नतिजामा सबै विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुपस्थित देखाएपछि विद्यार्थी आक्रोशित बनेका थिए । यही कारण उनीहरूले तालाबन्दी गरेका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन राजविराज क्याम्पसका सभापति रञ्जितकुमार यादवले शिक्षाशास्त्र सङ्काय प्रमुख रामअषिश यादव र परीक्षा शाखा प्रमुख चन्देश्वर यादवको स्वार्थका कारण प्रयोगात्मक परीक्षाको अंक समावेश नगरिएको आरोप लगाउनुभयो ।
सभापति यादवका अनुसार नतिजामा अंक समावेश नभएसम्म तालाबन्दी जारी रहने बताएका छन् । तालाबन्दीका कारण परीक्षा शाखाका कर्मचारी कार्यालयभित्रै थुनिएका छन् भने विद्यार्थी शाखा अगाडि धर्ना बसेका छन् ।
यसैबीच, क्याम्पस प्रमुख सुशीलचन्द्र कर्णले प्रयोगात्मक परीक्षाको अंक समावेश गराउनका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो । बीएड चौथो वर्षमा एक सय ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
भिडियाे सामाग्री