वीरगंज | चोरी तथा लागुऔषध सम्बन्धी अभियोगमा प्रहरीले वीरगञ्जबाट एक युवकलाई पक्राउ गरेको छ ।
पर्सा वीरगञ्ज महानगरपालिका–१६ बस्ने ३५ वर्षीय मखु उर्फ शेख साहेबजान मियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । मियाँलाई यसअघि पनि पटक–पटक चोरी मुद्दामा सजाय भोगिसकेको प्रहरीले जनाएको छ।
घटना अनुसार, भदौ ६ गते दिउँसो ३ः३० बजे मौलापुर–१ रौतहट घर भई वीरगञ्ज महानगरपालिका–१५ शिरोमणी टोलमा बस्ने रामपुकार प्रसाद यादवको घरमा चोरी भएको थियो । उनकी श्रीमती काम विशेषले बाहिर गएको समयमा घरको ताल्चा फुटाई भारतीय नगद १ लाख २९ हजार ८०० रुपैयाँ, नेपाली नगद १ लाख २५ हजार रुपैयाँ र सुनचाँदीका गरगहना चोरी भएको उजुरी परेको थियो ।
सीसीटीभी फुटेजको आधारमा अनुसन्धान गर्दा मियाँ संलग्न रहेको खुलेपछि उनलाई भदौ ८ गते पक्राउ गरिएको हो ।
विशेष सूचनाको आधारमा उनको घर खानतलासी गर्दा ९ किलो ८०९ ग्राम गाँजा, डिजिटल तराजु, विभिन्न सुन–चाँदीका गरगहना, साथै १५ लाख १५ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मियाँलाई चोरीसँगै लागुऔषध सम्बन्धी कसूरमा समेत थप अनुसन्धान गरिरहेको छ ।
भिडियाे सामाग्री