काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही गर्न नसक्ने दाबी गरेका छन् ।
बुधबार काठमाडौँमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सत्तारूढ कांग्रेस–एमाले गठबन्धन दलाल र बिचौलियाहरूको दबाबमा बनेको भन्दै भ्रष्टाचार, बेथिति र अराजकताविरुद्ध यो सरकार असफल हुने स्पष्ट पारे ।
उनका अनुसार दलाल र बिचौलियाले आफ्ना स्वार्थअनुरूप सरकार बनाएका कारण राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कुलमान घिसिङलगायतलाई हटाउने काम भइरहेको छ । "राम्रो काम गर्न खोज्यो हटाऊ भन्छ सरकार," प्रचण्डले आरोप लगाए ।
उनले आफूले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा समेत सत्ताबाट हट्नुपरेको अनुभव सुनाउँदै, अहिलेको सरकार दलाल र बिचौलियाका निर्देशनअनुसार मात्र चलिरहेको दाबी गरे ।
अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन प्रणालीमा आधारित कार्यकारी राष्ट्रपतिको व्यवस्था र समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको पनि औंल्याए ।
भिडियाे सामाग्री