नेपाल सरकारले दिएको अन्तिम समयसीमा सकिँदासम्म पनि सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरू सूचीकरणका लागि नआएपछि आज थप निर्णय हुने भएको छ ।
भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय टेक कम्पनीहरूलाई एक साताभित्र सूचीकरण गर्न अनुरोध गर्ने र तोकिएको समयसीमा भित्र सूचीकरण नगर्ने प्लाटफर्महरूलाई बन्द गर्ने निर्णय गरेको थियो ।
तर, बुधबार रातिसम्म कुनै पनि सामाजिक सञ्जाल कम्पनी सूचीकरणका लागि आएको छैन । संचार मन्त्रालयका अनुसार सरकारले तोकेको समयसीमा भित्र सूचीकरण नगरेका फेसबुक, एक्स, अल्फाबेट (गुगल), इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाललाई बन्द गर्ने वा नगर्नेबारे आज बिहान १० बजे बस्ने बैठकले टुंगो लगाउनेछ ।
सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार आजको बैठकले यसबारे स्पष्ट निर्णय गर्नेछ ।