रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले बालश्रममुक्त नगरपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ । आर्थिक वर्ष २०८२/०८३ भित्र बालश्रममुक्त नगरपालिका घोषणा गर्ने नीति अनुसार नगर क्षेत्रका होटल तथा ग्यारेजमा अनुगमन गरी बालश्रमिकको खोजी सुरु गरिएको चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले जानकारी दिनुभयो ।
होटल तथा ग्यारेजमा फेला परेका बालश्रमिकलाई घर फर्काउने कार्य अगाडि बढाइएको पनि उहाँले बताउनुभयो ।
नगरस्तरीय बालअधिकार समिति सदस्य तथा मनोसामाजिक परामर्शकर्ता सिर्जना तिमल्सिनाका अनुसार चन्द्रपुरका विभिन्न होटल तथा ग्यारेजमा १८ वर्षमुनिका बालबालिकालाई कानुन विपरीत श्रममा लगाइएकाले पहिलो प्राथमिकतामा त्यहाँबाटै बालश्रमिक हटाउने अभियान सुरु गरिएको हो ।
बारम्बारको अनुगमनपछि होटल तथा ग्यारेजमा पहिलाको तुलनामा बालश्रमिक घटेको समेत उनले बताउनुभयो ।
चन्द्रपुर नगरपालिका–४ मा गठित वडास्तरीय बालअधिकार समिति, नगरस्तरीय बालअधिकार समिति तथा ‘छोरी संस्था’ को सहकार्यमा अनुगमन गर्दा १८ वर्षमुनिका बालबालिकालाई दैनिक १८ घण्टासम्म काम गराइएको अवस्था फेला परेको मनोसामाजिक परामर्शकर्ता तिमल्सिनाले बताउनुभयो ।
त्यस्तै, सडकमा बालबालिकालाई माग्न पठाउने अभिभावकलाई सम्भावित जोखिम, अधिकारबाट वञ्चित हुने अवस्था र त्यसबाट हुने दीर्घकालीन असरबारे जानकारी दिइने गरिएको समेत उनले बताउनुभयो। साथै, अभिभावकलाई बालबालिकाको शिक्षा र पोषण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गराइने गरिएको पनि स्पष्ट पार्नुभयो ।
बालसंरक्षण क्षेत्रमा सक्रिय ‘छोरी संस्था’ ले चन्द्रपुर नगरपालिका–४, ७, ९ र १० मा श्रममा संलग्न बालबालिकालाई मुक्त गराई विद्यालयमा भर्ना गर्ने, ड्रेस, कापी र कलम उपलब्ध गराउने काम गर्दै आएको छ ।
चन्द्रपुर नगरपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालका अनुसार बालश्रम अन्त्य गर्दै नगरलाई बालमैत्री नगरपालिका बनाउन प्रत्येक वडामा बालअधिकार समिति गठन गरी सक्रिय पारिएको छ ।
भिडियाे सामाग्री