काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले राति अबेर वा बिहान सबेरै प्रेसर कुकरमा सिट्टी नलगाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्रहरीले ध्वनि, धुँवा र फोहोर प्रदूषणमुक्त छिमेकी अभियानको थालनी गर्दै यस्तो अनुरोध गरेको हो । प्रहरी कार्यालयका अनुसार राति वा बिहानको समयमा कुकरको सिट्टी बजाउँदा ध्वनि प्रदूषण बढ्ने र यसले समाजमा नकारात्मक असर पार्ने भएकाले जरिवानासहित कारबाही गरिने चेतावनी दिइएको छ ।
ध्वनि प्रदूषणले गर्भवती, मुटुरोगी, वृद्धवृद्धा र बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले अभियान सुरु गरिएको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
यसका अलावा, यस्तो गतिविधिले सर्वसाधारणको सामाजिक, आर्थिक तथा नैतिक जीवन प्रभावित हुने र सामाजिक सम्बन्धमा प्रतिकूल असर पर्ने भएकाले घर, परिवार र छिमेकीको हितका लागि सहकार्य गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
सूचनामा राति अबेर शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने, प्रेसर कुकरमा सिट्टी नलगाउने, ठूलो स्वरले गफ नगर्ने र भान्साका भाँडाकुडाको ठूलो आवाज नगर्ने अनुरोध गरिएको छ ।

भिडियाे सामाग्री