वीरगंज | महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट कार्य गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले सम्मानित गरेको छ ।
मानव बेचबिखन विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा शुक्रबार काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा उपरीक्षक मिश्रलाई कदरपत्रसहित सम्मान प्रदान गरिएको हो ।
नेपाल सरकारले ७७ वटा जिल्ला प्रहरी कार्यालयको कार्य मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई उत्कृष्ट ठहर गरेको थियो । यस आधारमा उपरीक्षक मिश्रलाई सम्मानित गरिएको प्रमुख अतिथि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
मन्त्री सिंहले कार्यक्रममा भन्नुभयो, “महिला तथा बालबालिका बेचबिखन मानवता विरुद्धको जघन्य अपराध हो। यस अपराधलाई नियन्त्रण गर्न पर्सा प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उपरीक्षक मिश्रलाई सम्मानित गरिएको हो ।”
गत आर्थिक वर्षमा पर्सा प्रहरीले उत्कृष्ट कार्य गर्दै भारतमा बेचिएका नेपाली चेलीहरूलाई सुरक्षित स्वदेश फर्काएपछि घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाएको उल्लेख महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले गर्नुभयो ।
उक्त सम्मानपत्रमा उल्लेख छ :
“ श्री जिल्ला प्रहरी कार्यालय पर्सा, मानव बेचबिखन तथा ओसारपसार रोकथाम, नियन्त्रण, अभियोजन र अनुसन्धानका क्षेत्रमा सक्रिय रही पीडित / प्रभावितहरूको उद्धार तथा न्याय पहुँचमा उल्लेखनीय कार्य गरी पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औँ राष्ट्रिय दिवस २०८२ को अवसरमा यो सम्मानपत्र प्रदान गरिएको व्यहोरा । ”
भिडियाे सामाग्री