सर्लाही | सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरूप दिने अनुदानबापत करिब ७५ करोड रुपैयाँ रकम निकासा गरेको छ । यस रकम देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखुका आधारमा किसानलाई पठाइएको हो ।
सरकारको नीति अनुसार, चिनी उद्योगले प्रतिक्विन्टल ५८५ रुपैयाँ र सरकारले ३५ रुपैयाँ अनुदान दिने व्यवस्था अनुसार रकम उपलब्ध गराइएको छ । सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, नवलपरासीलगायत जिल्लामा व्यावसायिक उखु खेती हुने गर्दछ ।
सर्लाहीका किसानले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान प्राप्त गरेका छन् । यसरी सर्लाहीका किसानका लागि कुल १८ करोड रुपैयाँ अनुदान रकम प्रत्येक किसानको खातामा पठाइएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले जानकारी दिएको छ ।
प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईंका अनुसार, क्रसिङ सिजन २०८१/८२ मा सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो, तर रकम निकासा हुँदा ३५ रुपैयाँका दरले मात्र वितरण सम्भव भएको थियो। सर्लाहीका तीन वटा चिनी मिलले क्रसिङ गरेको उखुको विवरणअनुसार किसानले माग गरेको ३७ करोड रुपैयाँ मध्ये १८ करोड मात्र निकासा गरिएको र वितरण सम्पन्न भएको गुरागाईंले जनाउनुभयो ।
भिडियाे सामाग्री