काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह प्रवासी नेपाली भेला एवं अन्तरक्रिया कार्यक्रममा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
‘प्रवासी नेपालीहरूको सम्मान र सुरक्षाका लागि’ भन्ने नारासहित आम प्रवासी नेपाली एकता समाज भारत शाखाले आइतबार नयाँ दिल्लीमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन साह आज दिल्ली पुगेका हुन् । सो कार्यक्रममा नेपालबाट दिल्लीमा रहेका विभिन्न पेशा, व्यवसाय तथा अध्ययनमा संलग्न नेपालीहरूको सहभागिता रहनेछ ।
साह यसअघि भारतकै आर्थिक नगरी मुम्बईमा प्रवासी नेपालीहरूको कार्यक्रममा सहभागी भएका थिए । नेपालसहित विदेशमा समेत संगठन विस्तारलाई तिव्रता दिइरहेको आजपाका लागि यो दिल्ली भ्रमण विशेष भएको उनको सचिवालयले जनाएको छ ।
नयाँ दिल्लीको बसाइका क्रममा साहले भेला, अन्तरक्रिया कार्यक्रमका साथै त्यहाँ रहेका नेपाली उद्योगी, व्यवसायी र विद्यार्थीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । आजपा अध्यक्ष साह करिब आठ वर्षपछि पहिलो पटक दिल्ली पुगेका हुन् । आजपा गठनपश्चात् उनको पहिलो विदेश भ्रमण भारत बनेको छ ।
साहले लाखौं प्रवासी नेपालीलाई देश निर्माणको अभियानमा जोड्न प्रवासको पहिलो कार्यक्रम भारतमै तय गरेको बताइएको छ । दिल्लीको कार्यक्रमलगत्तै उनले मलेसिया, दुबई, कतार, साउदी अरबलगायतका मुलुकमा समेत भ्रमण गर्ने तयारी रहेको छ ।

भिडियाे सामाग्री