पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान कांग्रेस–एमाले सत्ता गठबन्धन शेरबहादुर देउवा र केपी शर्मा ओलीको बुद्धिले नबनेको टिप्पणी गरेका छन् ।
नेपाल उद्योग व्यापार महासंघले पोखरा–लेकसाइडमा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका’ विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यो सरकार विचौलिया र दलालको धाक–धम्कीबाट बनेको दाबी गरे ।
उनले भने, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन । यो दलाल र विचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।”
प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमा देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गरे । उनले माओवादी केन्द्रले आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढ्ने स्पष्ट कार्ययोजना अघि सारेको बताए ।
साथै उनले कांग्रेस–एमएलएको वर्तमान सरकार क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व गरिरहेको आरोप लगाए । माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको र ऋण मिनाह, सहकारी सुधार तथा तल्लो वर्गको उत्थान प्राथमिकतामा रहेको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले सहकारी क्षेत्रमा ठगी गर्नेहरू र त्यसमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप गर्दै भने, “हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो । त्यसैले त्यो काम अघि बढ्न सकेन ।”
भिडियाे सामाग्री