सिरहा । भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।
यादवसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारीले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट रु. दुई लाख ८२ हजार ८०० बराबरको लत्ताकपडा र रु. दुई लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको कुल मूल्य रु. ५ लाख ३२ हजार ८०० बराबर हुने बताइएको छ ।
एसपी भण्डारीका अनुसार भारतबाट भन्सार छली गरी सामान भित्र्याउने गतिविधिलाई रोक्न सशस्त्र प्रहरीले निगरानी कडा पारेको छ । पक्राउ परेका सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
भिडियाे सामाग्री