रौतहट । नेपाल सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री अनिल कुमार झाले छोरीको शिक्षा र सम्मानमै समाजको उज्ज्वल भविष्य निहित रहेको बताएका छन् ।
संविधानसभा सदस्य तथा मधेश प्रदेश सरकारकी पूर्वराज्यमन्त्री दिवंगत डा. डिम्पल झाको अथक प्रयासकै परिणामस्वरुप मधेश प्रदेशमा छोरीको नाममा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै अध्यक्ष झाले डा. झा एक परिवार वा गाउँको मात्र नभई सिङ्गो समाज र प्रदेशप्रति समर्पित नेतृ भएको स्मरण गराए । उनले महिला अधिकार, शिक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा डा. झाले पुर्याएको योगदान सदैव सम्झनलायक हुने बताए ।
शनिबार दुर्गाभगवती गाउँपालिका–३ मत्सरीमा आयोजित “छोरी संरक्षण तथा छात्रवृत्ति कार्यक्रम” मा बोल्दै अध्यक्ष झाले यस किसिमका अभियानले विद्यार्थीलाई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा दिनुका साथै छोरीलाई समान अवसर दिनुपर्ने सोच आमाबाबुलाई अभिप्रेरित गर्ने बताए ।
कार्यक्रममा वडाअध्यक्ष धमेन्द्र कुमार झाको पहलमा आर्थिक वर्ष २०८१/८२ मा जन्मिएका ४५ जना छोरीका अभिभावकलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो । साथै किशोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ति र सम्मानपत्र प्रदान गरिएको वडाअध्यक्ष झाले जानकारी दिए ।
यसै अवसरमा वि.वि.एमा पूर्ण छात्रवृत्ति प्राप्त गरेकी ज्योती सर्राफलाई नगद २५ हजारसहित सम्मानपत्र, दलित समुदायबाट पहिलोपटक कक्षा १२ मा ३.४ जि.पि.ए हासिल गरेकी निकी रामलाई १५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।
भिडियाे सामाग्री