जनकपुरधाम । भदौ शुक्ल पूर्णिमादेखि सुरु हुने पितृपक्षको पहिलो दिन जनकपुरधामस्थित गङ्गासागरमा तर्पण दिने श्रद्धालुहरूको घुइँचो लागेको छ ।
सोह्र श्राद्ध प्रारम्भको अघिल्लो दिन आइतबार पूर्णिमाको बिहानैदेखि गङ्गासागरमा स्नान गर्ने भक्तजनहरूको भीड देखिएको हो । पवित्र जलाशयमध्येको एक मानिने गङ्गासागरमा प्रत्येक वर्ष भदौ शुक्ल पूर्णिमाका दिन पितृ तर्पणमा सहभागी हुन स्थानीयसँगै सीमावर्ती भारतका विभिन्न स्थानबाट समेत श्रद्धालु आउने गरेका छन् ।
मिथिलामा असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भदौ पूर्णिमाका दिन देवर्षि तर्पण गर्ने परम्परा रहिआएको छ । यस दिन कुलदेवता, ग्रामदेवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइएपछि भोलिदेखि आफ्ना दिवंगत पितृहरूको श्राद्ध गर्ने प्रचलन छ ।
गङ्गासागरमा देखिएको भीड धार्मिक कर्तव्यसँगै सामाजिक मेलमिलापको अवसरसमेत बनेको छ । तर्पण दिन आएका श्रद्धालु शशी साहले भने, “हाम्रा पुर्खाहरू पनि यही गङ्गासागरमा तर्पण दिन आउनुहुन्थ्यो । अहिले हामी पनि यहीँ आउँछौं, किनकि धार्मिक दृष्टिले गङ्गासागरको छुट्टै महत्व छ ।”
पितृपक्षको अवधिभर मिथिलाका नदी तथा तलाउका घाटमा तर्पण गर्ने श्रद्धालुहरूको भीड देखिने गर्छ ।
भिडियाे सामाग्री