जनकपुरधाम | प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा माग्दै जनकपुरधाममा जेन–जी पुस्ताले सोमबार प्रदर्शन गरेका छन् ।
दिउँसो जनकचोकमा भेला भएका युवाहरूले टायर बालेर विरोध प्रदर्शन गर्दै सरकारप्रति असन्तोष प्रकट गरेका थिए। उनीहरूले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, भ्रष्टाचार र कुशासनको विरोधमा सडकमा उत्रिएको बताए ।
आन्दोलनमा सहभागी दिवाकर उप्रेतीले सरकारले गरेका अनियमितता, दमन र जनविरोधी निर्णयविरुद्ध युवापुस्ताले सडक तताएको उल्लेख गर्दै, खबरदारी अभियान स्वरूप प्रदर्शन भइरहेको बताए ।
यसअघि सोमबार नै अर्को समूहले जानकी मन्दिर हुँदै विभिन्न चोकमा जुलुस निकाल्दै सामाजिक सञ्जाल बन्दको विरोध गरेको थियो। काठमाडौँमा भएको आन्दोलनमा सरकारको दमनको निन्दा गर्दै जनकपुरधाममा समेत प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको हो ।