काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेन–जीहरूको प्रदर्शनमा घुसपैठ भएको बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा सो प्रदर्शनबारे गरिएको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले जेन–जीहरूको मागबारे सरकार संवेदनशील रहेको र उनीहरू सचेत ढंगले सडकमा उत्रिएको उल्लेख गर्दै, तर अन्य अराजक तत्वले आन्दोलनमा घुसपैठ गरेको बताएका हुन् ।
“जेन–जीहरू सकारात्मक तरिकाले प्रदर्शनमा उत्रिएका थिए । युवा पुस्ताको शान्तिपूर्ण आन्दोलन राम्रै हुने अपेक्षा थियो । तर, त्यो आन्दोलनमा घुसपैठ भएको महसुस भएको छ,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठकमा जानकारी दिइएको थियो ।
उनले जेन–जीहरूले समेत आन्दोलनमा घुसपैठ भएको स्वीकार गरिसकेको दाबी गर्दै, सोही कारणले युवाको ज्यान गएको बताएका थिए । साथै, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने विषयमा पनि बैठकमा प्रष्ट्याएको प्रधानमन्त्रीको भनाइ थियो ।