बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा सोमबार तोडफोड भएको छ ।
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जी युवाहरूले आयोजना गरेको प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीको निवासमा तोडफोड गरेका हुन् । निवास नजिकै पुगेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीसँग धक्का–मुक्की भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । यसक्रममा प्रहरीबाट गोली प्रहार भएको र कम्तीमा दुई जना युवा घाइते भएको बताइएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंस्थित विभिन्न अस्पतालमा लगिएको छ ।
उक्त घटनापछि बालकोट क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
जेन–जी आन्दोलनले देशका विभिन्न शहरमा व्यापक प्रदर्शन चर्काइरहेको बेला प्रधानमन्त्रीको निजी निवासमै तोडफोड हुनुले राजनीतिक वृत्तमा थप तरंग ल्याएको छ ।