प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक अब कुन बाटोतर्फ अघि बढ्ने भन्ने विषयमा अन्यौल बढेको छ ।
संविधान बमोजिम नयाँ सरकार संसदमार्फत गठन हुनुपर्ने भए पनि आन्दोलनकारीहरूले ताजा जनादेशसहित अन्तरिम नागरिक सरकार गठन गर्नुपर्ने माग तीव्र बनाएका छन् । जेनजी आन्दोलनका प्रमुख अगुवाहरूले सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामालाई आन्दोलनको जितको पहिलो चरण भनेका छन् । उनीहरूले अबको निकास भने नागरिक सरकार र ताजा निर्वाचन नै हुनुपर्ने स्पष्ट पारेका छन् ।
संविधानअनुसार अहिले संसदकै बाटो अपनाई अर्को प्रधानमन्त्री चयन गर्नुपर्ने अवस्था भए पनि आन्दोलनकारीहरूले सो विकल्पलाई अस्वीकार गर्दै आएका छन् । उनीहरूको भनाइमा, “संसदबाटै अर्को प्रधानमन्त्री चुनिए आन्दोलनको लक्ष्य अपूरा रहन्छ, त्यसैले ताजा जनादेश आवश्यक छ।”
आन्दोलनका सात अग्रणी अगुवाहरू — अभिजित अधिकारी, युजन राजभण्डारी, रक्षा बम, प्रदीप ज्ञवाली, मनिष खनाल, तनुजा पाण्डे र विनोद देउवा — ले जारी गरेको विज्ञप्तिमा ५ बुँदे माग राखिएको छ । ती मागमध्ये दोस्रो नम्बरमा अन्तरिम नागरिक सरकार गठनको माग प्रष्ट उल्लेख गरिएको छ । विश्लेषकहरूका अनुसार अब मुलुक दुई विकल्पबीच उभिएको छ — संसदबाट नयाँ सरकार गठन गर्ने वा आन्दोलनकारीको मागअनुसार अन्तरिम नागरिक सरकार र ताजा निर्वाचनतर्फ जाने ।
दुवै विकल्पलाई अघि बढाउने प्रक्रियामा राजनीतिक दल र आन्दोलनकारीबीच सहमति खोज्नुपर्ने देखिएको छ ।