काठमाडौँ | नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएको दुःखद् घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनमा संलग्न युवासहित केही सुरक्षाकर्मीको निधन भएको घटनाप्रति पार्टी दुःखी रहेको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवा र केही सुरक्षाकर्मीले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैका लागि अत्यन्त दुःखदायी छ ।”
कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विरोधका क्रममा भएको धनजनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधि शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको छ। देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाले अवश्य पनि यस्तो चाहेका थिएनन्। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भमा समेत आगजनी हुनु गम्भीर छ ।”
त्यसैगरी, कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा लगायत नेतामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ ।
अन्त्यमा, कांग्रेसले वर्तमान जटिल परिस्थितिमा कानुनी शासन र लोकतन्त्रको विकल्प नरहेको भन्दै सबैलाई आत्मविश्वासका साथ एकजुट भएर लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सक्रिय हुन आह्वान गरेको छ ।



