रौतहट | मंगलबार जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनापछि भयावह बनेको रौतहटको अवस्था शुक्रबारदेखि सामान्य बन्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार दिनको समयमा कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ । त्यसपछि बेलुका ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू रहने जनाएको छ । अत्यावश्यक कार्यका लागि शुक्रबार बेलुका ५ देखि ७ बजेसम्म दुई घण्टा आवतजावतको अनुमति दिइएको प्रशासनले जनाएको छ ।
यसअघि बिहीबार साँझ ५ देखि दुई घण्टाका लागि कर्फ्यू फुकुवा गरिएको थियो । दैनिक जीवनमा परेको असरलाई ध्यानमा राखी खाद्यान्न सामग्री तथा अन्य आवश्यक सेवाका लागि छोटकरीमा कर्फ्यू हटाइएको प्रशासनले जनाएको थियो। मंगलबार दिउँसो १२ बजेदेखि आंशिक लागू गरिएको कर्फ्यू सोही दिन दिउँसो ३ बजेदेखि सम्पूर्ण रौतहटमा अनिश्चितकालीन बनाइएको थियो ।
हाल औषधि पसल र पेट्रोल पम्प निर्वाध सञ्चालनमा छन् भने अन्य पसल पनि फाट्टफुट्ट खुल्न थालेका छन् । बजारमा चहलपहल कम देखिए पनि अवस्था भयावह नरहेको गौर–४ का स्थानीय ओम प्रकाश साह मधेशियाले बताए ।
मंगलबार रातिदेखि नेपाली सेना सडकमा तैनाथ भएपछि अवस्था क्रमशः सामान्यतर्फ गएको हो । आन्दोलनका क्रममा चन्द्रनिगाहपुरका धेरै सरकारी संरचना ध्वस्त भएका छन् । त्यहाँको इलाका प्रहरी कार्यालय समेत जलेर नष्ट भएकाले हालसम्म सञ्चालनमा आउन सकेको छैन ।