सप्तरी | राजविराज नगरपालिकामा पाँच दिनदेखि फोहोर सङ्कलन नहुँदा नगरक्षेत्र दुर्गन्धित बनेको छ ।
मङ्गलबार जेनजीको प्रदर्शनका क्रममा भएको आगजनीबाट नगरपालिकाको प्रशासनिक भवनदेखि सवारीसाधनसम्म जलेर नष्ट भएपछि फोहोर सङ्कलन रोकिएको हो । प्रदर्शनकारीले गरेको आगजनीमा कार्यालयमा रहेका कागजात, फर्निचर तथा महत्त्वपूर्ण सामग्रीसँगै फोहोर सङ्कलनका लागि प्रयोग हुने चार वटा ट्याक्टर र तीन वटा टिपर समेत जलेर नष्ट भएका थिए ।
नगरपालिकाको कार्यालय सञ्चालन गर्न सक्ने अवस्थामा नरहे पनि तत्काल वैकल्पिक व्यवस्था मिलाएर फोहोर व्यवस्थापन गर्नुपर्ने राजविराज–७ का सागर साहले बताए ।
फोहोर उठाउने सवारी साधन नष्ट भएपछि राजविराज बजारसहित विभिन्न बस्तीमा पाँच दिनदेखि फोहोर थुप्रिँदै गएको छ । यसले महामारी फैलिन सक्ने खतरा बढाएकोमा उनले चिन्ता व्यक्त गरे ।
सडक, चोक र घर आँगनमा फोहोर जम्दा दुर्गन्ध फैलिएको र रोग सङ्क्रमणको जोखिम बढेको स्थानीय बासिन्दाले बताएका छन् । “फोहोर व्यवस्थापन तत्काल नगरे स्वास्थ्य संकट आउन सक्छ,” स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् ।