बुटवल | जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ ।
पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् ।
जाहेरीमा प्रदर्शनमा गोली चलाउन आदेश स्वयं ओलीले दिएको दाबी गरिएको छ। सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरै जना घाइते भएको विवरण उल्लेख गरिएको छ ।
मृत्यु भएकामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।
जाहेरीमार्फत ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। साथै शव परीक्षण प्रतिवेदन र घटनास्थल मुचुल्कालाई प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।