वीरगंज | गत हप्ताको जेनजी आन्दोलनका क्रममा वीरगंजको घण्टाघरस्थित नेपाल टेलिकम कार्यालयमा तोडफोड र आगजनी हुँदा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
भदौ २४ गतेको आन्दोलनको भीडमा टेलिकम कार्यालय पहिलो निशानामा परेको थियो। नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहले जानकारी दिनुभयो कि अराजक समूहले टेलिकमको कम्प्युटर, प्रिन्टरसहित अन्य महत्वपूर्ण उपकरणमा ठूलो क्षति पुर्याएको छ ।
साहले भन्नुभयो, “प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकम कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट महसुल काउन्टरमा विशेष गरी धेरै क्षति भएको छ ।”
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार गर्न निर्देशन दिनुभएको छ। उहाँले भने, “जेनजी समूहको आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालयका भवन र सवारीसाधनमा अपूरणीय क्षति पुगेको छ । कार्यालयमा भएका क्षतिको मुचुल्का तयार गर्दा पारदर्शी र यथार्थपरक बनाउन निर्देशन दिएको छु । मुचुल्का तयार गर्दा श्रव्यदृश्य र व्यवस्थित ढङ्गले तयार पार्न आग्रह गरेको छु ।”
वीरगंज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा पनि धेरै क्षति भएको छ ।