सप्तरी । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट तथा तोडफोडका कारण सप्तरीको कञ्चनरूप नगरपालिकामा करिब दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।
आन्दोलनकारीहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, डेक्सटप, टेबल, कुर्सी, दराज, फोटोकपी मेसिनलगायत कार्यालय प्रयोजनका सामग्री तोडफोड, आगजनी र लुटपाट गरेका थिए । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काका अनुसार करिब २० प्रतिशत सामग्री तोडफोड गरी बाहिर निकाली जलाइएका थिए भने ८० प्रतिशत सामान लुटिएको छ ।
उहाँले भन्नुभयो, ‘‘भएका सामान पनि नराम्ररी तोडफोड भएकाले प्रयोगयोग्य छैनन् । कार्यालयका फाइलमध्ये केही जलाइएका छन् भने केही जथाभावी फालिएका छन् ।’’
आन्दोलनकारीहरूले नगरपालिका परिसरमा राखिएका चार थान मोटरसाइकलमा आगजनी गरेका छन् । त्यस्तै, नगरप्रमुखको गाडी र अर्को मोटरसाइकलमा पनि क्षति पुगेको छ ।
नगरप्रमुख ललन प्रसाद गुप्ताले जेनजी आन्दोलनमा घुसपैठ भएकै कारण यस्तो घटना भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जेनजीले यस्तो गर्न सक्दैन । घुसपैठ भएकाले घटना भयो ।’’ आन्दोलनपछि नगरपालिका र स्थानीयताहरू अहिलेसम्म सञ्चालनमा आउन नसकेको उहाँले जानकारी दिनुभयो ।