प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । हिजै उनले पाँच जना मन्त्रीको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोही अनुसार नियुक्तिको तयारी गरिएपनि, पठाइएका नाममा अहिले ‘होल्ड’ राख्न भनिएको छ । राष्ट्रपतिको सचिवालयका एक सदस्यका अनुसार शीतल निवासले प्रधानमन्त्रीको सचिवालयलाई शपथ समारोहका लागि आज दिउँसो २ बजेको समय तोकेको छ ।
सचिवालयका ती सदस्यले भने, “पठाइएका पाँच मन्त्रीका नाम अहिलेलाई होल्डमै राख्न भनिएको छ । शपथ समारोहका लागि व्यवस्थापन गर्नुपर्ने भएकाले समय दिइसकेका छौं ।” सिफारिस गरिएका पाँच जनामा स्वास्थ्य मन्त्रालयकी सचिव संगीता मिश्रा, आविष्कारक तथा वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुन:संरचना समितिका संयोजक मदन परियारको नाम समावेश छन् ।
स्रोतका अनुसार यी नामहरू बदलिन सक्ने सम्भावना रहेकाले अहिले ‘होल्ड’ राखिएको हो । प्रधानमन्त्री कार्कीलाई सरकारमा जेनजी आन्दोलनकारीको प्रतिनिधित्व सुनिश्चित गर्ने दबाब रहेको छ ।
तर, कसलाई आधिकारिक प्रतिनिधि मान्ने भन्ने विवादले सिंहदरबारमा उत्तेजना सिर्जना गरेको छ ।