सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् ।
लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित सडक खण्डमा प्रदेश ३–०३–००१ ख ००६७ नम्बरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्बरको पिकअप आपसमा ठोक्किएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
सोमबार बिहान साढे ४ बजेतिर भएको दुर्घटनामा ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–४ निवासी ३७ वर्षीय राजेन्द्र लामा र पिकअप चालक सिरहाको कर्जन्हा नगरपालिका–४ निवासी ३२ वर्षीय दुर्गा विक घाइते भएका छन् ।
लालबन्दीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (प्रनि) वीरेन्द्रसिंह जोहारीका अनुसार दुबै घाइतेलाई लालबन्दीको मोडेल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक लामालाई बढी चोट लागेको छ भने पिकअप चालक विकको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।