महोत्तरी । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडपछि महोत्तरीको मटिहानी नगरपालिका–२ को वडा कार्यालय अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । भदौ २४ गते भएको आन्दोलनका क्रममा वडा भवनमा आगजनी हुँदा सम्पूर्ण कागजात र फर्निचर नष्ट भएका कारण कामकाज ठप्प रहेको हो ।
मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार आन्दोलनका क्रममा नगरपालिका वडा २, ३ र ४ मा तोडफोड तथा आगजनी भएको थियो । तीमध्ये वडा ३ को कार्यालयमा अझै समस्या देखिएको उनले बताए ।
उनका अनुसार वडाबासी र वडाध्यक्षसँग छलफल भइरहेको छ र चाँडै नै कामकाज सुचारु गर्ने तयारी भइरहेको छ । हाल वडा २ को काम भने त्यही क्षेत्रमा रहेको स्वास्थ्य चौकीको एउटा कोठाबाट अस्थायी रूपमा सञ्चालन भइरहेको नगरप्रमुख मण्डलले जानकारी दिए ।
वडा ३ को कार्यालयमा आन्दोलनकारीले कम्प्युटर, पंखा, कुलर, सोफा, दराज, झ्याल र मेनगेटसहितका सामग्री तोडफोड गर्नुका साथै कागजातमा आगजनी गरेका थिए । यसले कामकाज प्रभावित भएको नगरप्रमुख मण्डलले बताए । उनका अनुसार आन्दोलनका कारण नगरपालिका कार्यालय र वडाहरूमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैबीच, जलेश्वरस्थित ट्राफिक प्रहरी कार्यालयलाई स्थानिय व्यापारी सन्तोष कुमार साहले सहयोग गरेका छन् । आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा समेत आगजनी हुँदा सम्पूर्ण फर्निचर र सामग्री नष्ट भएका थिए ।
बजाज सोरुमका सञ्चालक साहले ट्राफिक प्रहरी कार्यालय जलेश्वरलाई पाँच थान डस्ना, चार थान तकिया, पाँच थान तन्ना, चार थान कुर्सी, चार थान झुल, तीन थान पंखा, एक थान प्लास्टिक कुर्सी, डिस्पेन्सर र अन्य स्टेशनरी सामग्री हस्तान्तरण गरेका छन् । उनले कार्यालयको काम प्रभावित भएको थाहा पाएपछि सहयोग गरेको बताएका छन् ।