वीरगंज । जेन–जी आन्दोलनको क्रममा मधेश प्रदेशका विभिन्न प्रहरी युनिटहरूमा आगजनी र तोडफोड हुँदा करिब ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक रिपोर्टअनुसार आठ जिल्लामा रहेका प्रहरी कार्यालय, चौकी तथा सवारीसाधनमा ठूलो भौतिक क्षति पुगेको हो ।
प्रारम्भिक तथ्यांकअनुसार भौतिक पूर्वाधारमा आठ करोड र सवारीसाधनमा तीन करोड गरी कुल ११ करोडको क्षति भएको छ । आन्दोलनको मुख्य दिन भदौ २४ गते मात्र प्रदेशभरका १०९ प्रहरी युनिट क्षतिग्रस्त भएका थिए, जसमा १३ युनिट पूर्ण रूपमा आगोले नष्ट भएका छन् । स्थायी १३ र अस्थायी ९९ प्रहरी चौकी तथा जिल्ला ट्राफिक कार्यालयहरूमा क्षति पुगेको प्रदेश प्रहरीले जनाएको छ ।
क्षति मूल्याङ्कनका लागि प्रहरी उपरीक्षक (एसपी) ईश्वर थापाको नेतृत्वमा समिति गठन गरिएको छ । समितिको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा ६ वटा प्रहरी गाडी पूर्ण रूपमा जलेका छन् भने १० वटा गाडीमा तोडफोड गरिएको छ । त्यस्तै, २५ वटा मोटरसाइकल आगोले नष्ट भएका छन् ।
मधेश प्रदेशका ५३५ प्रहरी युनिटमध्ये ३९९ आफ्नै जग्गामा र बाँकी भाडामा सञ्चालित छन् । आन्दोलनमा ८४ प्रहरी घाइते भएका थिए । त्यसक्रममा तीनवटा एसएलआर हतियार लुटिएकोमा हतियार त बरामद भए पनि प्रयोग हुने ४५ राउन्ड गोली अझै हराइरहेको डिआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
‘यो आन्दोलनले प्रहरी मात्र नभई प्रदेशको सुरक्षाको आधारलाई नै ध्वस्त पारेको छ,’ डिआइजी चतुर्वेदीले भन्नुभयो, ‘प्रारम्भिक रिपोर्टअनुसार व्यापक क्षति भएको छ, विस्तृत मूल्याङ्कन अझै बाँकी छ ।’
उनले थपे, ‘मधेशका प्रहरी चौकीहरू पहिलेदेखि नै कमजोर संरचनामा थिए । आन्दोलनको नाममा भएको आगजनीले यी अस्थायी संरचनालाई अझ कमजोर बनाएको छ । प्रहरी जनताको सुरक्षाका लागि हो, तर आन्दोलनकै नाममा प्रहरीमाथि आक्रमण हुँदा जनताको सुरक्षामा नै संकट आउँछ ।’
यसबीच, हालसम्म विस्थापित १०९ प्रहरी युनिटमध्ये १०५ पुनर्स्थापित भइसकेका छन् भने चार युनिट अझै पुनर्स्थापनाको प्रक्रियामा छन् । स्थानीय समुदायको सहयोगमा ती युनिटहरू पुनःस्थापित हुँदैछन् ।