सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय अभिषेक कुमार सिंह मृत अवस्थामा फेला परेका छन् ।
तीन दिनदेखि बेपत्ता रहेका अभिषेकको शव मंगलबार बिहान अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
अभिषेक असोज ५ गते आइतबारदेखि हराएका थिए। सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न गएको हुनसक्छ भन्दै सामान्य खोजतलास थालेका थिए । तर, अर्को दिनसम्म पनि उनी घर नफर्किएपछि सक्रिय खोज कार्य सुरु गरिएको थियो ।
खोजतलासकै क्रममा अभिषेकको मोबाइलमा इमोमार्फत ५ करोड रुपैयाँ फिरौती माग्दै धम्कीपूर्ण सन्देश आएको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिए। हिन्दी भाषामा पठाइएको उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन माग गर्दै प्रहरी वा पत्रकारलाई खबर गरे ज्यानको जोखिम हुने चेतावनी दिइएको थियो ।
स्थानीयवासी र वडा अध्यक्ष महतोले सक्रिय खोजी गरिरहेका बेला मंगलबार बिहान घरनजिकैको विद्यालय छेउमा अभिषेकको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी आनन्द राम शर्माका अनुसार घटनास्थलमा कुकुरसहितको प्रहरी टोली खटाइएको छ । शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाउने तयारी भइरहेको र हत्या तथा फिरौती प्रकरणमा थप अनुसन्धान भइरहेको उनले बताए ।