संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपाली समुदायलाई त्यहाँको कानुन र अनुशासन पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास, अबुधाबीले अनुरोध गरेको छ । दूतावासले मंगलबार जारी गरेको अत्यन्त जरुरी सूचनामा पछिल्ला दिनमा केही नेपालीहरू गैरकानुनी गतिविधिमा संलग्न भई समस्यामा परेको उल्लेख छ ।
दूतावासका अनुसार, हालैका दिनहरूमा नेपालीहरू मादक पदार्थ सेवन तथा झैझगडा, बैंकिङ कसुर, आपसी नगदी लेनदेन विवाद, लागुऔषध ओसारपसार, इमिरेट्स आईडीको दुरुपयोग, साइबर क्राइम, अध्यागमन नियम उल्लंघन, ट्राफिक नियम उल्लंघन तथा फ्रिल्यान्स भिसाको प्रलोभनमा फस्ने घटनाहरू बढ्दो क्रममा छन् ।
“संयुक्त अरब इमिरेट्समा विभिन्न पेशा र व्यवसायमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं मर्यादित र अनुशासित भई आफ्नो पेशा र व्यवसायप्रति इमान्दार र कर्तव्यनिष्ठ रहनुहोस् । साथै, यूएईको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्ण रूपमा पालना गर्नुहोस्,” दूतावासले सूचनामा भनेको छ ।