जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा अब कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने धारणा राख्नुभएको छ ।
पूर्व झापाबाट सप्तरी हुँदै बिहीबार जनकपुरधाम आइपुग्नुभएका महामन्त्री शर्माले धनुषास्थित क्षतिग्रस्त पार्टी कार्यालय अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मधेश प्रदेशमा कांग्रेसलाई सरकार सञ्चालनको जिम्मेवारी लिनुपर्ने समय आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कांग्रेसलाई बलियो बनाउन मधेशले ठूलो योगदान गरेको छ । मधेशमा पटक–पटक अन्य दलले सरकारको नेतृत्व गरिसकेकाले अब कांग्रेसले नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने शुभेच्छा केन्द्रको छ ।”
महामन्त्री शर्माले संघीयताको मर्मअनुसार प्रदेशको सरकार निर्माण गर्ने अधिकार प्रदेशकै कार्यसमिति र संसदीय दलमा रहेको स्पष्ट गर्दै, कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले अन्य दलसँग छलफल अघि बढाउनुपर्ने बताउनुभयो ।
यद्यपि उहाँले प्रदेश नेतृत्वले फरक धारणा राखेमा त्यसको निर्णय गर्ने अधिकार प्रदेशकै भएको उल्लेख गर्नुभयो । साथै, जेनजी पुस्ताको भावनालाई समेट्दै नेपाली कांग्रेसले समग्रमा रूपान्तरण हुनेमा जोड दिनुभयो। “पुस्तान्तरणभन्दा पनि सबैलाई समेट्ने गरी रूपान्तरण गरिएको कांग्रेस बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।
यसैबीच, कल्याणपुर संवाददाताका अनुसार महामन्त्री शर्मा बिहीबार राजविराजस्थित कांग्रेस कार्यालयको निरीक्षणका लागि पुग्नुभएको थियो । त्यहाँ कार्यकर्तासँगको भेटघाटमा उहाँले प्रतिनिधि सभा नभए पनि राष्ट्रपति, राष्ट्रिय सभा र प्रदेश संस्था रहँदा पनि संविधान घाइते जस्तै बनेको टिप्पणी गर्नुभयो ।
शर्माले भन्नुभयो, “राष्ट्रपति संस्था, राष्ट्रिय सभा र प्रदेश छँदै छ, तर संसद् विघटन हुँदा संविधान घाइते भएको छ । यसलाई फेरि स्वस्थ अवस्थामा ल्याउनुपर्छ । आवश्यकता सिद्धान्तअनुसार राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुको साटो संसद्को बैठक बोलाएर जनताको माग अनुसार सरकार गठन गर्न सकिने थियो ।”
उहाँले संसद् पुनस्र्थापना वा ताजा जनादेशमा जाने विषयमा कांग्रेसले हालसम्म कुनै निर्णय नगरेको जानकारी दिनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले भदौ २३ गते नवजवानमाथि भएको गोलीकाण्डका दोषीलाई कारबाही गर्नुपर्नेमा पनि जोड दिनुभयो ।