काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि नेतृत्व हस्तान्तरणको दबाब पार्टीभित्रैबाट बढ्न थालेको छ । सानै स्वरमा भए पनि बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमै यो विषय उठेको छ ।
बैठकको सुरुवातमै मौखिक सम्बोधन गरेका प्रचण्डले नेतृत्वबारे बाहिर र भित्र उठेका प्रश्नहरूलाई स्मरण गर्दै प्रतिक्रिया दिएका थिए । उनका अनुसार, हिजोका ठूला पार्टीका नेताहरूले पद छोड्नुपर्ने भन्ने जनमत व्यापक रुपमा फैलिएको छ भने आफूलाई पनि नेतृत्व छोड्नुपर्ने आवाज पार्टीभित्रै सुनिन थालेको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समेत प्रचण्डले नेतृत्व हस्तान्तरण गरेर आफूलाई कार्यवाहक दिनुपर्ने तर्क गरेका थिए । उनले लामो समयसम्म एउटै व्यक्तिको नेतृत्वमा पार्टी रहनुले नकारात्मक प्रभाव पारिरहेको र जेनजी आन्दोलनपछि नेताहरूबारे बनेको जनमानसको धारणा ध्यानमा राख्नुपर्ने बताएका थिए ।
तर प्रचण्डले भने आफू जिम्मेवारीबाट पलायन गर्ने पक्षमा नभएको स्पष्ट पारे । उनले भने, “अहिले पनि कम्युनिस्ट आन्दोलन, राष्ट्रिय स्वाधीनता वा वैचारिक बहसका निम्ति म आफ्नो जिम्मेवारीबाट पन्छिने कुरा मेरो दिमागमा छैन । अन्तिम समयसम्म पनि म लडिरहनुपर्छ भन्ने संकल्प छ ।”
त्यससँगै उनले नेतृत्वलाई अध्यक्ष पदसँग मात्र जोडेर बुझ्न नहुने भन्दै निश्चित विधि र प्रक्रियामार्फत नेतृत्व हस्तान्तरणको आवश्यकता भने औंल्याए । तर, यसबारे विस्तृत व्याख्या नगरी उनले वैचारिक, राजनीतिक र संगठनात्मक प्रक्रियाबाट मात्र नयाँ नेतृत्व तयार गर्न सकिने बताए ।
प्रचण्डले यसअघि पनि विभिन्न अवसरमा नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याएका थिए । संविधान दिवसको कार्यक्रममा र भिडियो सन्देशमार्फत पनि उनले विधिसम्मत ढंगले नयाँ नेतृत्व निर्माणमा पार्टी अघि बढ्ने संकेत दिएका थिए ।
२०४६ सालको जनआन्दोलनअघि विशेष परिस्थितिबाट आफू नेतृत्वमा आएको स्मरण गराउँदै उनले जिम्मेवारी बलपूर्वक लिएको नभई परिस्थितिको माग अनुसार आफ्नो काँधमा आएको बताए । उनले आफ्नो नेतृत्वकालमा पार्टीले गरेका जनआन्दोलन, जनयुद्ध, शान्ति प्रक्रिया र संविधानसभाको उपलब्धिलाई स्मरण गराउँदै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने संकल्प दोहोर्याए ।
बैठकमा प्रचण्डले अन्य नेताहरूको कार्यशैली, जीवनशैली र आचरणबारे पनि प्रश्न उठेको भन्दै सबै नेतृत्वले आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याए । मुलुकको जटिल परिस्थितिमा पार्टी नेतृत्वलाई कमजोर बनाउन खोजिएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे ।