सप्तरी | एघार वर्षको उमेरमै सहपाठीहरूको संगतमा लागुऔषध सेवन सुरु गरेका रमेश यादव १६–१७ वर्षसम्म आइपुग्दा गाँजा, ट्याब्लेट, बोतल र इन्जेक्सनजस्ता पदार्थमा लठिसकेका थिए । उनका साथीहरू रन्जन दास, पिताम्बर दास र मोहन साह पनि त्यस्तै अवस्थामा परे । यसले उनीहरूको पढाइ, पारिवारिक जीवन र सामाजिक सम्बन्ध गम्भीर रूपले प्रभावित बनायो ।
विवाहयोग्य उमेर पुगे पनि उनीहरू योग्य जीवनसाथी पाउन असमर्थ भए । अन्ततः गरिब घरकी छोरीसँग विवाह भए पनि जिम्मेवारी निर्वाह गर्न नसक्दा परिवार र सामाजिक जीवन थप अस्तव्यस्त बन्दै गयो । स्वास्थ्य, सीप र मानसिक अवस्था कमजोर भएपछि उनीहरूमा पश्चाताप बाहेक अन्य विकल्प बाँकी रहेन ।
मधेश प्रदेशका सीमा क्षेत्रहरू पछिल्लो समय लागुऔषध कारोबारको हब बन्दै गएका छन् । भारतीय सीमावर्ती जिल्लासँग जोडिएका आठवटै जिल्लामा ग्रामीण डगर र कच्ची बाटो प्रयोग गरेर लागुऔषध भित्र्याइने र देशका अन्य शहरमा पठाइने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख अनुसन्धान शाखा अधिकारी प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार पछिल्ला तीन वर्षमा ३,२३६ जनालाई लागुऔषध घटनामा पक्राउ गरिएको छ । तीमध्ये ९० प्रतिशत युवाहरू नै रहेका छन् । मुख्यतः १२–३५ वर्ष उमेर समूहका किशोरकिशोरी बढी संलग्न हुने गरेको पाइएको छ ।
तीन वर्षको अवधिमा ६,८४,९८५ तौल/थान लागुऔषध बरामद गरिएको छ । यसमा गाँजा ३०,७०३ किलो, ब्राउन सुगर ७० ग्राम, चरेश ७८१ किलो, अफिम ४६ किलो, हिरोइन ४.३ किलो, ट्याबलेट ४,८७,१९५ थान, बोतल १९,१४७ र इन्जेक्सन १,७८,६४३ थान रहेका छन् ।
प्रहरी अनुसन्धानले किशोरकिशोरी लागुऔषधमा लाग्ने मुख्य कारणमा पढाइमा असफलता, अभिभावकको ध्यानको कमी, साथीहरूको प्रभाव, सामाजिक सञ्जाल र चलचित्रको प्रभाव, सजिलो पैसा कमाउने मोह लगायत रहेको देखाएको छ ।
लागुऔषध सेवनले शारीरिक, मानसिक, पारिवारिक, सामाजिक र आर्थिक जीवनमा गम्भीर असर पार्ने चिकित्सक दिलिपकुमार साह बताउँछन् । उनका अनुसार यसले एचआईभी÷एड्स, हेपाटाइटिस, तौल घट्ने, डिप्रेशन, स्मरणशक्ति कमजोर हुने, पारिवारिक विवाद र चोरीजस्ता अपराध बढाउने गर्दछ ।
नागरिक समाजका अध्यक्ष थानसिंह भनसालीले युवाको उर्जा सिर्जनशील गतिविधिमा खर्च गर्नुपर्नेमा जोड दिँदै भविष्य सुरक्षित गर्ने उपायमा लागे देशको विकासमा ठूलो योगदान पुग्ने उल्लेख गरे ।