काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनको क्रममा भदौ २४ मा आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन् । राष्ट्रवादी तथा पार्टी निकट आदिवासी–जनजाति नेताहरूसँगको भेटमा उनले बालुवाटार छोड्दा पाँच मिनेटमात्र ढिला भए उनी मारिने सङ्केत आएको बताएको पुष्टि गरिएको छ ।
ओलीले भेटघाटमा भने — “पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए । शेरबहादुरजीलाई अलिकति घाइते बनाउने र मलाई मार्ने योजना रहेछ । म त्यो अवस्थाबाट जोगिएको छु ।” उनको भनाइअनुसार सुरक्षाकर्मीप्रति अलिक भरोसा भए पनि अन्तिम क्षणसम्म ‘हामी केही पनि गर्न सक्दैनौं’ भन्ने अवस्था आएको र सेनाले अन्ततः बाहिर निकालेर सुरक्षित बनाएको बताइएको छ ।
उनले आफ्नो मनोबल कमजोर नगर्ने र षड्यन्त्र विरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने भन्दै देशलाई ठूला खतरा र संस्थागत धक्का पुर्याउन खोज्ने तत्वविरुद्ध सचेत रहन सबै तहमा आग्रह गरे । यो दाबी विशाल जनआन्दोलन र त्यसपछि सिर्जना भएको राजनीतिक अस्थिरताको पृष्ठभूमिमा आएको हो, जुन घटनाक्रमले सरकार परिवर्तनसम्मलाई समेत प्रभावित बनाएको विश्लेषणहरू सार्वजनिक छन् ।
भेटमा सहभागी लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले सबै आदिवासी–जनजातिलाई एकजुट भएर ओलीको साथमा रहने र ढाडस दिने कुरा व्यक्त गरेका छन् ।