वेस्ट इन्डिजसँगको रोमाञ्चक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ । शारजाह क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुने कार्यक्रम छ ।
पहिलो खेलमा ऐतिहासिक जित निकाल्दै आत्मविश्वास उकासिएको नेपाली टोली आजको खेलमा पनि विजयी हुँदै एक खेल अगावै शृंखला आफ्नो पक्षमा पार्ने योजनासहित मैदानमा उत्रिनेछ ।
नेपालले पहिलो खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित तथा उत्कृष्ट प्रदर्शन गरेको थियो । कप्तानसहित सबै खेलाडीले आ–आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्दा बलियो टेस्ट राष्ट्र वेस्ट इन्डिजलाई पराजित गर्न सफल भएको थियो ।
आजको खेलमा पनि सोही स्तरको ‘अलराउन्ड’ प्रदर्शन कायम गर्नुपर्ने चुनौती नेपाली टोलीअगाडि छ। वेस्ट इन्डिज भने शृंखलामा फर्किनका लागि पूरा शक्ति लगाएर मैदानमा उत्रिने तयारीमा रहेको छ ।
यो शृंखलाको तेस्रो तथा अन्तिम खेल भोलि (मंगलबार) खेलिनेछ। नेपाल भने आजको खेल जित्दै क्रिकेट इतिहासमा अर्को स्वर्णिम अध्याय थप्न आतुर छ ।