महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका–५ अन्तर्गत जमुनिया क्षेत्रमा अविरल वर्षापछि आएको आकस्मिक बाढीले बगाएको नेपाल टेलिकमको जिपलाई सशस्त्र प्रहरीले सुरक्षित रूपमा उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार प्रदेश ३–०१–४५२७ नम्बरको उक्त जिपलाई जेसीबीको सहयोगमा खोलाबाट निकालिएको हो ।
शनिबार साँझ लगातारको वर्षासँगै रातु खोलामा आएको बाढीका कारण नेपाल टेलिकम जनकपुर कार्यालयको जिप भंगाहा–बिर्ता सडक खण्ड पार गर्न खोज्दा बगेको थियो । जिपमा चालक मात्र सवार थिए। सशस्त्र प्रहरीका अनुसार, समयमै सुरक्षा जानकारी दिइएकाले चालकलाई सकुशल उद्धार गरिएको हो ।
डिएसपी थापाले भन्नुभयो, “जिप खोलाको छेउमा अड्किएको अवस्थामा भेटिएको थियो । बाढीको बहाव केही कम भएपछि जेसीबी प्रयोग गरी सुरक्षित रूपमा निकाल्न सफल भयौं ।”
जिप बगिरहेको देखेपछि स्थानीयवासीले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। उद्धार अभियानमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू समेत सहभागी थिए ।
रातु खोलाको जलसतह अझै घटेको छैन। मौसमविद्हरूका अनुसार महोत्तरी, धनुषा र सिराहा क्षेत्रमा अझै वर्षा जारी रहने सम्भावना छ ।
सशस्त्र प्रहरीले भने आगामी दिनहरूमा पनि जोखिमपूर्ण स्थानमा राहत र उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ ।