तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दर्ता नगरेपछि जेनजी आन्दोलनका अगुवाहरुले प्रहरीमाथि दबाब बढाएका छन् ।
‘हामी नेपाल’ का अध्यक्ष सुदन गुरुङसहित जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकका आफन्तहरूले बुधबार काठमाडौँ प्रहरी परिसरमा जाहेरी दर्ता गराउन पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता गर्न नमिल्ने बताएपछि उनीहरू असन्तुष्ट भएका थिए ।
प्रहरी स्रोतका अनुसार जाहेरी अस्वीकार भएपछि प्रहरीमाथि आक्रमण हुन सक्ने जोखिम देखिएपछि काठमाडौँमा आन्तरिक सुरक्षा व्यवस्था कडा बनाइएको छ । जेनजी आन्दोलनपछिका घटनालाई ध्यानमा राख्दै उपत्यकाका बिटमा रहेका प्रहरीलाई माथिल्लो तहका वृतहरूमा फिर्ता गराइएको बताइएकाे छ ।
अहिले काठमाडौँका सडकहरूमा पनि प्रहरीको उपस्थिति न्यून देखिएको छ । सम्भावित जोखिमको आकलन गर्दै प्रहरीले नयाँ आन्तरिक रणनीति बनाउने तयारी थालेको स्रोतले जनाएको छ ।
यसैबीच, मृतकका आफन्तहरू अझै पनि जिल्ला प्रहरी परिसर काठमाडौँमा रहेका छन् । उनीहरूसँगै प्रहरी कार्यालय पुगेका सुदन गुरुङ भने केहीबेरअघि मात्र प्रहरी परिसरबाट बाहिरिएका छन् ।
यसैबीच, सुदन गुरुङले आफूले प्रहरीलाई धम्काएको भन्ने समाचारको खण्डन गरेका छन् । सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले “सडकबाट देखाइदिन्छु” भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् ।
भिडियाे सामाग्रीहरू