सर्लाही | प्रहरीलाई कुटपिट गरेको र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
४० वर्षीय वडाध्यक्ष दासलाई मङ्गलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी तथा डीएसपी सरोज राईले जानकारी दिए ।
वडाध्यक्ष दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुंगामुढा र आक्रमण भएको आरोप छ । आक्रमणका क्रममा चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) अवधेशप्रसाद यादवको अगाडिका दुईवटा दाँत भाँचिएको र अन्य पाँच जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
ढुंगामुढा र बाँसको भाठा प्रहारबाट प्रहरी चौकी परिसरमा रहेका तीन वटा मोटरसाइकलमा क्षति पुगेको समेत प्रहरीले दाबी गरेको छ ।
दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७ का स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५ का अनिलराय यादवलगायतले कुटपिट गरेको घटनालाई लिएर वडाध्यक्ष दास पक्षले प्रहरी चौकीमा गएर आक्रमण गरेको बताइएको छ । कुटपिटमा संलग्न ठेकेदार अनिलराय यादव प्रहरी नियन्त्रणमा छन् ।
प्रहरीले वडाध्यक्ष विनेशकुमार दासलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखेको छ । उहाँविरुद्ध कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी मुद्दामा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको डिएसपी राईले बताए ।
यसैबीच, वडाध्यक्ष दासलाई प्रहरीले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरेको आरोप लगाउँदै स्थानीयले बुधबार बिहानैदेखि गोडैता बजार बन्द गराएका छन् । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले दासको पक्राउ राजनीतिक प्रतिशोधसहित गरिएको दाबी गर्नुभएको छ ।
भिडियाे सामाग्री